निर्धक्कसाथ मतदान गर्न आममतदातालाई राष्ट्रपति भण्डारीको आह्वान

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आममतदाताहरुलाई आह्वान गर्नुभएको छ ।

आज राष्ट्रपति भण्डारीले एक भिडियो सन्देश दिनुहुँदै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट शासन सञ्चालन गर्नु हो भन्दै मतदान गर्दा कसैको भय नमानी निर्धक्क भएर मत दिन आग्रह गर्नुभएको छ ।

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले राज्य शक्तिको वास्तविक स्रोत जनता हुन् भन्ने सत्यलाई व्यवहारमै प्रकट गर्ने माध्यम निर्वाचन भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्न राष्ट्रपति भण्डारीले अनुरोध गर्नुभएको छ । साथै उहाँले आवधिक निर्वाचन  लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्वतन्त्र निष्पक्ष र भयरहित भएर हरेक नागरिकहरूले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुहुँदै यस दिशामा सबैलाई लाग्न अपील गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न राष्ट्रपतिको आह्वान (भिडियो ):


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media