गृहमन्त्री खाँणद्वारा आचारसंहिता पुनः उल्लंघन, मन्त्री खाँण र उम्मेदवारविरुद्ध फेरि उजुरी

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

बुटवल । गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै काँग्रेस उम्मेदवार रामकृष्ण खाँणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाँणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै मन्त्री खाँण र काँग्रेस उम्मेदवार रामकृष्ण खाँणमाथि कारबाहीको माग गरेका हुन् ।

गृहमन्त्री र उम्मेदवार खाँणविरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिता विपरीत घरदैलो कार्यक्रममा सहभागी भएको भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाँणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media