मतदानको समय समाप्त, देशभर ५३ मतदान केन्द्रको मतदान रोकियो

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।

देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ । अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।

यसैबीच देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्ला लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको परमसिंहदेवी मावि निधुरादिन (क) मतदान केन्द्रको मतदान अवरुद्ध भएको छ । त्यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सावित्रा मावि बामराङ (ग) मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

दोलखाका तीन ठाउँमा मतदान प्रक्रिया अवरुद्ध भएको छ । तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको हो । त्यस्तै, सिन्धुलीको ९ वटा मतदान केन्द्रको मतदान अवरुद्ध भएको थियो । कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढीमा मतदान अवरुद्ध भएको थियो ।

धनुषाको मिथिला नगरपालिका, महोत्तरीको भँगाहा नगरपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका र हरिभवन नगरपालिका, धादिङको धार्के गाउँपालिका, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकात्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिका गरी चार मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

सप्तरीको एक मतदान केन्द्रमा भने १ जेठमा मतदान हुनेछ । डाक्नेश्वरी नगरपालिका २ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुने भएको हो । मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । कतै सेनाको सुरक्षा निगरानीमा मतदान भइरहेको छ भने कतै यसअघि नै मतदान प्रक्रिया सकिसकेको आयोगले जनाएको छ ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media