भारतीय प्रधानमन्त्री मोदी भोलि लुम्बिनी आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाका लागि नेपाल आउँदै छन् ।

भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान एघार बजेतिर लुम्बिनी आउने छन् ।

हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमि पूजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पूजा र शिलान्यासको काम सकेपछि उनी लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानेछन् । केही समय उनले त्यही होटलमा बिताउने छन् ।

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीं सुरु हुनेछ ।

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । मोदी दिवा भोजमा सहभागी हुनेछन् । त्यसपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यत्तिहरुसँग भेटवार्ता गर्नेछन् ।

सोमबार साढे तीन बजे उनले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने जनाइएको छ ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media