बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ३४ दशमलव ३१ प्रतिशत र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात ६५ दशमलव ६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए। बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ प्राप्त हुने अनुमान रहेको उनले बताए। त्यस्तै मन्त्री तामाङले सञ्चित कोष बचत विविध प्राप्तिबाट १२ अर्ब  ७६ करोड ७९ लाख रुपैयाँ र अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको उनले बताए। मन्त्री तामाङले प्रदेशमा लगानीको वातावरण तयार गर्ने तथा आर्थिक क्रियाकलापमा वृद्धि हुने गरि राजस्व नीति प्रस्ताव गरेको जानकारी दिए।
Published :असार १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media