अवतरणका क्रममा जजिराको विमान चरासँग ठोक्कियो

भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरासँग ठोक्किएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिएर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोक्किएको थियो ।

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणका क्रममा चरासँग ठोक्किएको आशंका गरेका छन् । तर, रनवेमा देखिनुपर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहीँ होल्ड भएको छ ।’

एयरलाइन्सका इन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।


Published :९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media