सरकारले असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको एमाले नेता रावलको आरोप

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले सत्तारुढ गठबन्धन आबद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने गतिविधि गरेको आरोप लगाए ।

प्रहरीको सुरक्षामा सरकारका मन्त्री नै सहभागी भएर तिब्बत मामिला संयोजक तथा अमेरिकी उपसहायक विदेशमन्त्रीलाई जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने, गुम्बामा लैजाने गरेको भन्दै उनले प्रश्न गरे- ‘नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्न्त्री देउवा, गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेका हुन् ?’

यी सबै गतिविधिप्रति सरकार मौन बसेको भन्दै रावलले आक्रोश व्यक्त गरे । ‘शक्ति राष्ट्रको प्रतिस्पर्धा र द्वन्द्वको घानमा नेपाललाई हाल्ने राष्ट्रघाती क्रियाकलाप मौन किन ?,’ आक्रोशित हुँदै उनले भने, ‘यसबारे सदनलाई जवाफ दिनुपर्छ ।’


Published :१२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media