काठमाडौँ । दुई वर्षदेखि स्थगित कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ १९ गतेबाट सुचारु गर्न लागिएको हो । वैशाख २६ गते सञ्चालन हुने गरी यसअघि मिति तोकिएको भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुँदैछ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरेको छ ।
कोरियन भाषा परीक्षामा सफल भएकामध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरूलाई यसै वर्ष दक्षिण कोरिया पठाउनका लागि परीक्षा लिन लागिएको हो ।
वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजारभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।
हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना सङ्क्रमणका कारण परीक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लान कोरिया राजी भएकाले परीक्षा सञ्चालन हुन लागेको हो ।