स्थानीय तथा पश्चिमी वायुको प्रभावः आगामी दुई दिन भारी वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०७९

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन भारी वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले बताइन् ।

आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाइ छ । नेपालको स्थानीय वायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद् महर्जनले बताइन् ।

भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको बताउँदै उनले बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको बताइन् । मनसुनपूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनले भनिन्–‘मौसमको यो अवस्था अझै २ दिन रहन सक्छ । पूर्वी भाग, बागमती प्रदेश, मधेस प्रदेशमा भोलि पनि पानी पर्ने सम्भावना रहेको छ । ति स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको सम्भावना रहेको छ । आज पश्चिमका पहाडी भूभागहरूमा पनि वर्षाको सम्भावना रहेको छ । मौसम तत्काल खुला हुने भन्दा पनि अझै ३ दिनसम्म बदली हुने नै देखिएको छ ।’

दिउँसो ११ देखि १२ बजे एक घण्टाको समयमा काठमाडौँको एयरपोर्ट क्षेत्रमा ५ मिलिमिटर भन्दा बढी वर्षा भएको छ । शनिवार बिहान प्रदेश १ र मधेस प्रदेशमा पनि भारी वर्षा भएको उनले बताइन् । नेपालमा मनसुन सुरु भई नसकेको र सामान्यत जुन १३ अर्थात जेठ ३० गतेपछिको समयदेखि मनसुन सुरु हुने गरेको मौसमविद्को भनाइ रहेको छ ।


Published :१४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media