समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प गरेका छौँः केपी ओली

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प बोकेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन् ।

पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पु-याउन सबैको साथ सहयोग रहनेसमेत अपेक्षा राखेका छन् ।

अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, ‘जनविरोधी शक्तिहरूका अनुचित दुष्प्रयासहरूले अवरोध पु-याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पु-याउन नेकपा (एमाले) को अभियानमा सम्पूर्णको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

गत आमनिर्वाचनबाट बनेको नेकपा (एमाले) नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उनको दाबी छ ।

उनले मुलुकमा आफूहरूले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको पनि बताएका छन् ।

आपसमा निराशा बाँडेर बस्ने हाम्रो सामाजिक प्रवृत्तिलाई हामीले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको भन्दै अध्यक्ष ओलीले नेकपा (एमाले)को सरकारका ऐतिहासिक प्रयासले राष्ट्रिय हितको संवर्द्धन, राष्ट्रिय स्वाभिमानको रक्षा र प्रवर्द्धन भएको बताए ।

उनले राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरेको बताउँदै संविधानमा निहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरी मुलुकमा नवविनिर्माणको नयाँ युगको थालनी गरिरहेको बताए ।

उनले जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामहरूले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सिङ्गो राष्ट्रलाई समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएका बताउँदै अध्यक्ष ओलीले जनताको बलिदानी पूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अङ्गहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या /अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको बताए ।

उनले मुलुकको दूरगामी यात्रालाई अलमल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍याएको बताए । “आज मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको छ।”, उनले सन्देशमा उल्लेख गरेका छन् ।

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी हो भन्नुहुँदै अध्यक्ष ओलीले हामी राष्ट्रको यस आकाङ्क्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहन्छौँ भनेका छन् ।

उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः शुभकामना व्यक्त गर्दै यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूप्रति हार्दिक सम्मान प्रकट गरेका छन् ।

 


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media