खराब मौसमका कारण बेपत्ता जहाज खोजीकार्यमा समस्या, स्थलमार्गबाट खटाइयो सेना र प्रहरी

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेपत्ता तारा एयरको जहाजको खोजीकार्यमा खराब मौसम बाधक बनेको जनाएको छ ।

प्राधिकरणका अनुसार खराब मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।

तारा एयरको जहाज आज विहान पोखराबाट जोमसोम जाने क्रममा बेप‍त्ता बनेको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् ।

प्राधिकरणका अनुसार जहाज विहान पोखराबाट ९ः५५ बजे जोमसोमको लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सो पश्चात विमान सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्याण्ड बाई रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा जनाएको छ ।


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media