सर्वोच्चको आदेशविरुद्ध आज माइतीघर मण्डलामा विरोध प्रदर्शन

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौँ । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आइतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् ।

धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरवलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुश प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले जानकारी दिए । यसैगरी काठमाडौ‌मा बस्दै आएका निजगढवासीले पनि आज माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र थप कडाइका साथ प्रदर्शन गर्ने बाराका दामोदर मैनालीले बताए । उनले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गरे ।

सर्वोच्चको अविवेकी फैसलाको पुर्विचार हुनुपर्ने भन्दै मैनालीले यदि जनताको माग नसुने थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

त्यसैगरी, निजगढ सरोकार समितिले पनि अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न आज समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले बैठकको निर्णयअनुसार आन्दोलन गरिने जानकारी दिए । समितिले यसअघि पनि विमानस्थलन निर्माणको माग गर्दै निजगढमा दबाबमूलक आन्दोलनको कार्यक्रम संचालन गर्दै आएको थियो ।


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media