तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु, शव छरपस्ट अवस्थामा

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०७९

काठमाडौं । तारा एयरको विमान हिजो भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ । शव छरपष्ट अवस्थामा रहेको पाइएको छ ।
दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ ।
जहाजमा सवार २२ जनामध्ये कोही पनि जीवित अवस्थामा नरहेको बताइएको छ ।
खराब मौसमसँगै बाक्लो बादल लागे पनि नेपाली सेनाको हेलिकोप्टर घटनास्थल नजिकै अवतरण गरेर प्रहरी र सेनाको टोलीले शव सङ्कलन कार्य सूरु गरेको बताइएको छ । पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहीन भएको तारा एयरको ट्वीनअटर ९एन एइटी विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान नजिक दुर्घटना भएको थियो ।
छरपष्ट अवस्थामा विमानको पाटपुर्जाहरु र शव भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले बताएका छन् । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरिक, १३ नेपाली नागरिक र तीन चालकदलसहित २२ जना रहेका छन् ।

जहाजमा विमानमा इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
त्यसैगरी क्याप्टेन प्रभाकर घिमिरेले उडाएको विमानका सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।


Published :१६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media