अबदेखि मौसम सफा नभई आन्तरिक उडान गर्न नदिइने

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो । मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ ।

पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको छ ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media