माओवादीमा पहिचानको संकट आउन थालेकोमा अध्यक्ष प्रचण्डको चिन्ता

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०७९

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको तर २०७४ को चुनावपछि का‌ंग्रेसले दम्भ देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए ।

पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको मोह भंग नभइसकेको बताए । तर सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको टिप्पणी उनले गरे ।

तेस्रो शक्तिका रुपमा माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको भन्दै उनले भने, ‘हाम्रो बाध्यता पनि छ, आवश्यकता पनि छ, कमीहरु पनि होलान् ।’

एक अर्को प्रस‌ं‌गमा अध्यक्ष प्रचण्डले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको बताए ।

जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको पनि आफूले बुझेको उनले बताए । तर, माओवादी उन्नत विचारको पक्षपोषण गर्ने दल भएको उनले जिकिर गरे । समाजवादी क्रान्तिको तयारी गर्ने उन्नत र सुसंस्कृत मानिसको कुरा गर्ने दल पनि माओवादी भएको तर आज त्यस्तो नभएको जनताले सोचेको उनले जिकिर गरे ।

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं । समाजवादी क्रान्तिको तयारीको गर्छौं । उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं । तर, हिजो हामी जनयुद्धमा थियौं । क्रान्तिकारी जनआन्दोनलमा थियौं । त्याग र वलिदानको कीर्तिमान गथ्र्यौं । हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं । सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं र गथ्र्यौं र माओवादी जनताले सजिलै चिन्थे । माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन् । तर, त्यस्तो रहेन,’ उनले भने ।


Published :१८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media