काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले यस्तो प्रतिबद्धता गरेका हुन् ।
महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा/बढुवा उत्कृष्टताका आधारमा मात्र गरिने बताए । प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाको अन्त्य हुने बताए । उनले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिले नै सरुवा र बढुवामा प्राथमिकता दिनेगरी आफूले काम गर्ने प्रतिबद्धता गरे ।
महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकहरुले प्राथमिकतामा राखेर अघि बढाएका कामहरुलाई आफूले निरन्तरता दिने जानकारी दिए । उनले नेपाल प्रहरी आलोचित बनिरहेको निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताए ।
सरकारले सिंहलाई गत वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरुले सर्वोच्चमा मुद्दा हालेका थिए । यसको टुंगो अझै लागिसकेको छैन ।