प्रतिनिधिसभाको निर्वाचन कात्तिकमै हुने प्रधानमन्त्री देउवाको भनाइ

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौ‌ं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचन आगामी कात्तिकमै हुने बताएका छन् । तर, यसका लागि दलहरुबीच छलफल गरेर सहमति कायम गरी निर्णय लिइने उनले बताए । आज (शनिबार) काठमाडौंमा कान्तिपुर हाफ म्याराथनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने,‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो ग-यो भने झन् विवाद हुन्छ । तपाईंहरुले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ ।’ प्रधानमन्त्री देउवाले आगामी संसद्को निर्वाचनसम्म नै अहिलेको गठबन्धन कायम रहने स्पष्ट पारे । पाँच दलीय गठबन्धन गठनको उद्देश्य अहिले पनि कायमै रहेकोले यसलाई निरन्तरता दिने उनले बताए ।

सो कार्यक्रममा प्रधानमन्त्री देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउँदै वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा रहेकाले यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताए ।

उनले भने,“मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौँ । बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृङ्खला नाङ्गिँदै गएका छन् भने नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ ।”

प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानवजीवनलाई नै गम्भीर असर सिर्जना गर्न सक्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै वातावरण दिवसको पूर्वसन्ध्यामा हुने यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकस्तरमा वातावरणको महत्व बुझाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

“वातावरण दिवसको सन्दर्भ पारेर आयोजना गरिएको हाफ म्याराथनले वातावरणको महत्वको विषयमा सचेतना दिन सहयोग पुग्ने छ भन्ने मैले विश्वास लिएको छु । शारीरिक व्यायामका कार्यक्रम तपाई हामी सबैका लागि आवश्यक छन् । स्वस्थ जीवननै मानिसको अमूल्य सम्पति हो । त्यसका लागि यस्ता शारीरिक व्यायाम हुने कार्यक्रम आयोजना हुन आवश्यक छ”, प्रधानमन्त्री देउवाले भने ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media