जनतालाई हेपेर निर्णय गर्दा काठमाडौंको मेयरमा कांग्रेस पराजित हुनुपरेको रामचन्द्र पौडेलको दाबी

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् ।

शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले जनताको चाहना विपरीत उम्मेदवार खडा गरेको हुनाले महानगरको प्रमुख बन्न नसकेको दाबी गरे ।

उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवारलाई जनताले मन नपराएको बताए ।

दुवै दलका प्रमुखका उम्मेदवारहरुको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई अस्वीकार गरेको उनले बताए ।

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि नमान्दा हार व्यहोर्न बाध्य भएको बताए ।

नेपाली काँग्रेसको नेतृत्व पंक्तिले वंशवादका आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए ।

उनले भने- ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । काँग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । काँग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए । मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन् । उम्मेदवारी दिँदा नै वंशवादका आधारमा जो दिइयो त्यो गलत भयो । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । त्यस्तो अतितमा पनि भएको छ । त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो । त्यस्ता कुरा फेरि पनि दोहो-याउने हो भने के हुन्छ भन्न सकिँदैन । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रुचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ । पार्टी भन्दैमा जनताले मान्छन् भनेर मूर्ख निर्णय गर्नुहुँदैन ।’


Published :जेष्ठ २१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media