आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका शीर्षकमाथि छलफल

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७९

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने भएको छ ।

आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको दोस्रो नम्वरमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शिर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको तेस्रो नम्वरमा सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वन तथा वातावरण मन्त्रालय शिर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको दैनिक कार्यसूचीको चौथो नम्वरमा सांसद आशाकुमारी विकले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एकसय रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक-२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ ।

सोमबारको बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।


Published :२४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media