जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले संसारका विभिन्न देशले कालो सूचीमा राखेको कम्पनीलाई एम्बोस्ड नम्बर राख्न ठेक्का शंकास्पद रहेको बताएका छन् ।

सरकारले सवारीसाधनमा जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप उनले लगाए ।

संसदमा आज भएको विनियोजन विद्येयकमाथिको छलफलका क्रममा उनले एम्बोस्ड नम्बर प्लेटले नेपालको संविधानमा भएको व्यवस्थाको पनि उल्लंघन गरेको बताए ।

नम्बर प्लेटमा देवनागरी अंक र अक्षर नराखी अंग्रेजी अक्षर राख्ने गरेको र निकै कमजोर समेत रहेको उनको भनाइ छ । पछिल्लो एक वर्षमा चार हजार सवारीसाधनमा एम्बोस्ड नम्बर प्लेट राखेकोमा १५ सय फुटेको उनले बताए ।

यस्तै, उनले यस वर्षको बजेट विनियोजन एकदमै अव्यावहारिक र एकपक्षीय रहेको बताए । नेता तथा पहुँचवालाहरुको क्षेत्रमा सडक निर्माण, सुरुङ निर्माण एकै ठाउँमा थुपारिएको तर अन्य क्षेत्रमा बजेट नै नभएको आरोप उनले लगाए ।

उनले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको बताए । यदि यहाँ सरकारले विमानस्थल नबनाउने हो भने यसअघि ३० वर्षदेखि गरिँदै आएको लगानी खेर जाने उनको भनाइ थियो ।


Published :२४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media