तालिबानमा महिला अधिकार उल्लङ्घनका घटना बढेकोमा एचआरडब्लूद्वारा चिन्ता व्यक्त

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०७९

काठमाडौँ । अफगानिस्तानमा तालिबानको शासन अवधिमा महिला अधिकार उल्लंघनका घटना वृद्धि भएको भन्दै मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकोमा त्यसको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लंघनको सूची लामो र बढ्दै गएको जनाएको छ ।

महिलाहरूलाई घरबाहिरका काममा र किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको आलोचना गर्दै एचआरडब्लूले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काइएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भएको पनि औंल्याएको छ ।

तालिबानले सत्ता कब्जापछि महिला र किशोरीहरूमाथि भएका दुर्व्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूले निन्दा गर्दै वक्तव्य निकाले पनि महिला र बालिकाहरूको अधिकार रक्षाका लागि तालिबानलाई दबाब नदिएको उक्त संस्थाले बताएको छ ।

२० वर्षसम्म सशस्त्र युद्ध गरेको तालिबान समूहले २०२१ को सेप्टेम्बरमा सत्ता कब्जा गरेको थियो । त्यसयता अफगानिस्तानबाट ठूलो संख्यामा मानिसहरूले देश छाडेका छन् । साथै तालिबानले महिला अधिकारमा आफूहरू लचिलो बन्ने प्रतिबद्धता व्यक्त गरे पनि पालना नभएको बताइन्छ । (रासस)


Published :२५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media