
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पीडितहरूलाई आइतबार परेको अविरल वर्षाका कारण पीडामाथि झन् पीडा थपिएको छ । बसोबासको वैकल्पिक व्यवस्था नहुँदा उनीहरू रत्नपार्क क्षेत्रमा वर्षामै भिजेर बस्न बाध्य भएका छन्।
किसान मजदुर आन्दोलन नेपालको आयोजनामा भएको ‘राजधानी मार्च’मा करिब ९ सय जना सहभागी भएको आयोजकले जनाएको छ। प्रदर्शनकारीमध्ये कतिपय गाडीको ओत, रुखको छहारी तथा उपलब्ध सानो आश्रयमा बसेर रात बिताउने तयारीमा देखिएका छन्।
आयोजकका अनुसार आन्दोलनकारीको बसोबास व्यवस्थापनका विषयमा गृह प्रशासनसँग समन्वय हुन नसकेको तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि उनीहरूले रत्नपार्कमै बस्ने निर्णय गरेका हुन्।
यसअघि बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ सिंहदरबार पुग्ने तयारीमा रहे पनि सुरक्षा निकायले अघि बढ्न नदिएपछि प्रदर्शनकारीहरू शान्तिबाटिकामै रोकिएका थिए। त्यसपछि उनीहरू रत्नपार्क क्षेत्रमा बसेर आन्दोलनलाई निरन्तरता दिएका छन्।
प्रदर्शनकारीहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जाना तथा अन्य शुल्क खारेज गर्न माग गरेका छन्। साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य र अन्यायपूर्ण ऋण असुलीका विषयमा न्यायिक निरुपण गर्न सरकारसँग माग गर्दै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।