
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
किसान मजदुर आन्दोलन नेपालको आयोजनामा लघुवित्तबाट पीडित सर्वसाधारणले राजधानीका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागीहरूले लघुवित्त संस्थाहरूबाट भएको आर्थिक शोषण अन्त्य गर्न, पीडितलाई न्याय दिलाउन तथा आफ्ना हकअधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनरत पक्षले लघुवित्तका कारण आफूहरू आर्थिक रूपमा मारमा परेको दाबी गर्दै लामो समयदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएको जनाएको छ। आइतबारको प्रदर्शन पनि सोही आन्दोलनको निरन्तरता भएको उनीहरूको भनाइ छ।
विरोध कार्यक्रममा किसान तथा मजदुरहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले वित्तीय शोषण रोक्न प्रभावकारी नीति र पीडितमुखी समाधान तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् ।