काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले राज्यका सबै क्षेत्र समस्याग्रस्त भएको उल्लेख गर्दै सरकार समाधानमा भन्दा पनि सरकार र गठबन्धन टिकाउने तथा प्रतिपक्षलाई कमजोर बनाउने काम व्यस्त भएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारका मन्त्रीहरु विनियोजन बजेटको छलफलमा पनि उपस्थित नभएर सरकार र सत्ता गठबन्धन टिकाउन नेता र प्रधानमन्त्रीको घरतिर व्यस्त भएको आरोप लगाए ।
उनका अनुसार अर्थतन्त्र र बजेटले उद्योगी, व्यवसायी र व्यापारी निराश छन्। बैंकहरु पैसा नभएर टाट पल्टिदै छन् । विद्यालयहरु पाठ्य सामग्रीहरु नभएर बन्द अवस्थामा पुगेको छ । किसानहरु मल अभावले गर्दा यो वर्ष खेती गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका छन्। डिग्री गरेका विद्यार्थीहरु म्यादी प्रहरीमा भर्ती भइरहेका छन् । महिला हिंसा बढ्दो छ र बलात्कारका घटना भइरहेका छन् । मूल्य वृद्धि १५ प्रतिशत भएको छ। नेपाल प्रहरीका कारणले त्रिभुवन विश्वविद्यालय १३९ दिनदेखि बन्द छ । काठमाडौंका सडकहरुमा फोहोर जताततै थुपारिएको छ । सरकार बञ्चरेडाडाँका स्थानीयलाई लाठी र अश्रुग्याँस प्रहार गरिरहेको छ ।
‘अर्थतन्त्र ग्यास्ट्रिक, अल्सरबाट क्यान्सर हुने अवस्थामा पुगेको छ,’ बस्नेतले भने, ‘तर सरकार र त्यसका मन्त्रीहरु सरकार गठबन्धन कसरी जोगाउने भन्ने काममा व्यस्त छन् । नेता र प्रधानमन्त्रीका घरहरु धाइरहेका छन् ।’
उनले प्रधानमन्त्री शारीरिक रुपमा अस्वस्थ भएको अवस्थामा सरकार कसरी चलिरहेको छ भनेर मान्छेले प्रश्न गर्न थालेको बताए। ‘मान्छे भन्ने गर्छन्, सरकार बुढानिलकण्ठका महाराज, राजकुमार, बालुवाटारकी महारानी र खुमलटारका महाराजले चलाइरहेका छन्,’ बस्नेतले भने ।