फोहोर संकट तत्काल समाधान गर्न गगनका ६ सुझाव

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यकाको फोहोर स‌ंकट समाधान गर्न तत्काल ६ काम थाल्नुपर्ने बताएका छन् । उनले लामो समयपछि काठमाडौँबाट फोहोर उठ्न थाले पनि दीर्घकालीन समाधान नभएका बेला यस्तो सुझाव प्रस्तुत गरेका छन् ।

महामन्त्री थापाले फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहको निरन्तरको पहलकदमी प्रशंसनीय रहेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अब फेरि फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ काम गर्नुपर्नेछ ।’

 महामन्त्री थापाले प्रस्तुत गरेका तत्काल थाल्नुपर्ने ६ काम यसप्रकार छन्-

१.शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो । हरेक पटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ ।

२.यसका लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर  तदारुकता जरुरी छ। सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउन पर्छ । कानुन बमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।

३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरणसमेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ ।

४.काठमाडौँ महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले काठमाडौँ महानगरलाई सम्पूर्ण साथ दिनुपर्छ ।

५.फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि  काठमाडौँ महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ ।

६.कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ। सम्पूर्ण महानगरबासीले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाले किन्तु परन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो बडाभित्र  नगरवासीलाई सु-सुचित गर्ने लगायत को सम्पूर्ण तयारी गर्नुपर्छ ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media