प्रि-प्राइमरी स्कुलका शिक्षकहरुलाई अपेनको एकदिने प्रशिक्षण

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौँ । एशोसियसन अफ प्रि-प्राइमरी एडुकेटर्स नेपाल (अपेन) को स्थानीय तह अपेन बुढानीलकण्ठले नगरभित्र सञ्चालित मन्टेश्वरी तथा प्रि-प्राइमरी स्कुलका शिक्षकहरुका लागि एकदिने कार्यशाला आयोजना गरी प्रशिक्षण दिएको छ ।

सो प्रशिक्षणमा विभिन्न स्कुलका ७३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

अपेन बुढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष विनोद थापाको संयोजनमा आयोजित सो प्रशिक्षण कार्यशाला बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा रहेको रोयल भिल्ला रिसोर्टमा दुई सत्रमा सञ्चालन गरिएको थियो।

अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेको सभापतित्वमा आयोजित सो कार्यशालाको पहिलो उद्घाटन सत्र बुढानीलकण्ठ नगर शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बोल्दै महाशाखा प्रमुख सिंहले अपेनको उद्देश्यअनुरुप प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिए । सो अवसरमा बाल शिक्षाको विकासमा अपेनले गर्ने हरेक कार्यहरुमा शिक्षा शाखाको निरन्तर सहयोग रहने उनले बताए ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष अच्युत नेपालको प्रमुख आतिथ्यतामा दोस्रो प्रशिक्षण सत्र सञ्चालन भएको थियो । सो प्रशिक्षण कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुलाई विभिन्न विधामा प्रशिक्षण दिइएको थियो ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media