मल उपलब्ध गराउन नसकेको भन्दै एमालेद्वारा सरकारको आलोचना

राष्ट्रपाटी न्युज

३० जेष्ठ २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिए ।

सांसद सरिताकुमारी गिरीले बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई दुःख नदिनका लागि गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दियोस् भन्ने माग गरिन् । सांसद यज्ञराज सुनुवारले मन्त्रालयमा जाँदा नभेटिने, संसदमा नभेटिने मन्त्रीलाई स्थगन प्रस्तावले कमसे कम संसदमा खडा गराएको भन्दै मलको अभावबारे मन्त्रीबाट प्रस्ट कुरा आउने अपेक्षा गरे ।

‘गठबन्धन सरकारलाई असार महिना किसानले खेती लगाउने बेला हो भन्ने थाहा भए पनि मल उपलब्ध गराउन सक्दैन,’ उनले भने, ‘विद्यार्थी पाठ्यपुस्तक चाहन्छन्, सरकार पुस्तक दिन सक्दैन । किसान मल चाहन्छन्, सरकार मल दिन सक्दैन । सांसदहरु विकास चाहन्छन्, सरकार विकास दिन सक्दैन ।’


Published :३० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media