संसदमा एमालेले माग्यो अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

राष्ट्रपाटी न्युज

३० जेष्ठ २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । एमाले सांसद योगेश भट्टराईले सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्य राति अर्थमन्त्रालयमा खटाई विद्युतीय गाडीका कर, स्वास्थ्य बिमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनेटरी प्याडको करलगायतको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे ।

‘नेपालको संसदीय इतिहासमा कोही मन्त्रीमाथि प्रश्न उठ्यो भने राजीनामा दिने चलन छ । यसलाई ख्याल गरियोस्’ उनको भनाइ छ ।

उता नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ ।

पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक भएपछि उनलाई फिर्ता बोलाउन छलफल सुरु भएको एक शीर्ष नेताले बताए ।

‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।’

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए ।

अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ ।

यसअघि नै शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको थियो ।


Published :३० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media