जीटुजीको मल आइपुग्ने सुनिश्चितता तत्काल गर्न एमाले सांसद अधिकारीको माग

राष्ट्रपाटी न्युज

३० जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतबाट ल्याउने भनिएको जीटुजीको मल आइपुग्ने सुनिश्चितता तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले ४ लाख मेट्रिकटन मल तत्काल उपलब्ध गराउन माग गरे ।

किसानलाई तत्काल मल आवश्यक भएको भन्दै उनले सम्झौताको मल कहिले आइपुग्छ भन्ने सुनिश्चित हुनुपर्ने बताए  ‘भारतसँग सम्झौता गरेको भनेको मल कहाँ छ ? कहिले आइपुग्छ ? कि भदौ-असोजतिर आउने हो ?’, उनले भने ।

नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यसपटकको मल अभावले उत्पादन घट्ने बताए । विश्व खाद्य संकटको पूर्वसन्ध्यामा मल अभाव भएर उत्पादन घटे सरकारले आगामी संकट चिर्न सक्ने पनि उनले बताए ।

यसअघि एमाले सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गरेका छन् । प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उनले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताए । अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै उनले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताए ।

‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १० र १२ लाख मेट्रिक टन धान अपुग हुन्छ,’ उनले भने, ‘जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले पाउँदैनन् ।


Published :३० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media