संसदमा एमालेद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका बिषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताएका हुन । गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको पाण्डेले बताएका छन् । उनले करको विषय ज्यादै गोपनीय र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले यस बिषयमा छानविन हुनुपर्ने माग गरेका छन् । पाण्डेले करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार नभएको र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहेको धारणा राखेका छन् ।
अर्थमन्त्रीको जवाफ माग गर्दै एमाले सांसदहरु उठेर बिरोध गरेपछि सभामुख अग्नी सापकोटाले यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेत विशाल भट्टराईलाई बोल्न समय दिएका थिए ।
प्रमुख सचेत भट्टराईले प्रतिनिधिसभाको कार्यसूचीबाट अर्थमन्त्रीले जवाफ दिने विषय हटाउन माग गरेका छन् ।
अर्थमन्त्री शर्मालाई बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर व्यक्तिगत स्वार्थमा करको दर हेरफेर गरेको आरोप लागेको छ ।


Published :३१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media