१२.५७ अंकले बढ्यो शेयर बजार

काठमाडौँ । लगातार ओरालो लागेको सेयर बजार बिहीबार बढेको छ । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर १,९७८.९४ बिन्दुमा पुगेको हो ।

नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम घटेको छ । बिहीबार कुल २२१ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ९४ हजार ५९४ सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार भने कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

राष्ट्र बैंकले सेयर धितोमा एकल ग्राहक कर्जा सीमा परिमार्जनसहित लागू गर्ने सम्भावनाका हल्लाहरू चलेकोले पनि आज बजार बढ्न सहयोग पुगेको देखिन्छ ।

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये लाइफ इन्स्योरेन्स र इनभेस्टमेन्टबाहेक सबैको मूल्य बढेको छ। लाइफ इन्स्योरेन्सको पनि जम्मा ०.०४ प्रतिशत र इनभेस्टमेन्टको ०.१ प्रतिशतले घटेको हो। यीबाहेक आज सबैभन्दा धेरै अन्यको २.८१ प्रतिशत र ट्रेडिङको १.४८ प्रतिशतले बढेको छ ।

बिहीबार कुल १५२ धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने ५२ वटाको मूल्य घटेको छ। आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा आज सकारात्मक सर्किट ब्रेक लागेको छ। यसपछि रिभर फल्स पावर लिमिटेडको ९.९७ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९६ प्रतिशतले बढेको छ ।

रिभर फल्स पावर लिमिटेडको सेयर कारोबार बिहीबारदेखि सुरू भएको हो । कम्पनीले पहिलो कारोबारको लागि ८७ रुपैयाँ ९८ पैसादेखि २६३ रुपैयाँ ९४ पैसाको मूल्य रेन्ज पाएको थियो। कम्‍पनीहरूको नेटवर्थको अधिकतम तीन गुणासम्म मूल्य रेन्ज दिइन्छ । बिहीकार कम्पनीको पहिलो कारोबार २६३ रुपैयाँ ९० पैसाबाट बढेर २९० रुपैयाँ २० पैसासम्म पुगेको छ ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनटिसीको १३ करोड ८८ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसपछि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको १० करोड ३५ लाख ४ हजार रुपैयाँ, सिभिल बैंकको ४ करोड ७१ लाख १९ हजार रुपैयाँ,  एनआइसी एसिया बैंकको ३ करोड ५७ लाख २३ हजार रुपैयाँ र नबिल बैंकको २ करोड ५० लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।


Published :२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media