सामाजिक सुरक्षा कोषबाट हालसम्म डेढ अर्ब दाबी भुक्तानी

काठमाडौँ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झन्डै डेढ अर्ब भुक्तानी गरेको छ।

कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई १९ करोड ४५ लाख छ हजार ९७९ रुपैयाँ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत एक करोड ९१ लाख ३१ हजार १०६ रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई तीन करोड तीन लाख ६६ हजार ३९३ रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ।

२०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो । रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ। त्यसरी जम्मा गरिएको योगदान रकम मध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, शुन्ना दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत मध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ। निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् ।

कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ। जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ ।

 

 


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media