मूल्यवृद्धिबारे सरकारले तत्काल जवाफ दिनुपर्छः पद्मा अर्याल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशमा भइरहेको पछिल्लो मूल्यवृद्धिबारे सरकारले तत्काल जवाफ दिनुपर्ने माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमालेकी सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन् ।

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् ।

सचिव अर्यालले भनिन्, ‘मूल्यवृद्धि गर्दै जनतालाई आहात दिने काम गरेको छ, राहत दिने काम गरेको छैन । त्यसैले यो बेला राहत दिने बेला हो सभामुख महोदय । जनतालाई आहात दिने बेला होइन । आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ । यो कुरालाई नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले जनताका आवाजहरु यो संसदमा बोल्नैपर्ने हुन्छ, सभामुख महोदय । त्यसैले मैले जनताका तर्फबाट, नेकपा एमालेका तर्फबाट सम्माननीय सभामुखमार्फत् यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आईप-यो ? यसको जवाफ चाहन्छौं हामी सभामुख महोदय । त्यसैले जनताको जीवनसँग जोडिएको, जनताको जीविकासँग जोडिएको यस्ता महत्वपूर्ण विषयहरुमा बाध्यता के आइलाग्यो ? किन मूल्य बढाइयो भन्ने सन्दर्भमा माननीय मन्त्रीज्यूले यो सदनलाई आएर जवाफ दिनुपर्छ ।’

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरेका थिए ।


Published :६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media