पेट्रोलियम मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने एमाले उपमहासचिव ज्ञवालीको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उपमहासचिव ज्ञवालीले भने- ‘पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले गम्भीरतापूर्वक लिएर मूल्यवृद्धि फिर्ता लिनुपर्छ अन्यथा एमाले आन्दोलनमा जान्छ ।’ उनले सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरेको बताए  ।

अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने बचन दिएको भए पनि सो बचन लत्याउँदै मूल्यवृद्धि गर्नुले संसदको समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले पेट्रोलियम पद्धार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाए ।

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पद्धार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने बताए । उनले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प समेत प्रस्तुत गरे ।

उनले भने, ‘अर्थमन्त्रीले बजेट वक्तव्य पढ्दै गर्दा, यद्यपी उहाँले वक्तव्यमा लिखित रुपमा सम्मिलित गर्नुभएको थिएन । तर अन्तिममा उहाँले मौखिक रुपमा पेट्रोलियम पद्धार्थको मूल्य मैले समायोजन गर्छु, यसमा लगाइएको अतिरिक्त कर हटाउँछु भन्नुभएको थियो । संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मुल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो । त्यसैले हामीले त्यही गम्भिरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भएपनि राहत हुन्छ । आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मुल्य घटाउन सकिन्छ । यो काम नगरीकन सिधै बाहिरबाट समायोजन भएर आयो, त्यसको सिधै मार जनतालाई दिने खालको कुरा छ । यदि हामीले गम्भिरतापूर्वक उठाएको विषयलाई सुनिएन । तदनुरुप सरकारले जवाफ दिएन । जवाफ चित्त बुझ्दो भएन र ठोस रुपले कदम चालिएन भनेदेखि हामी त्यो भन्दा अगाडि बढ्छौँ ।’


Published :६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media