चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल

  • समाचार टिप्पणी

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्न देउवा सरकार असफल भएको छ । भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुमा शतप्रतिशत मूल्यवृद्धि भएको छ । चर्को मूल्यवृद्धिले जनता आजित बनेका छन् । यसले गर्दा भान्सा महँगो भएको छ । अत्यधिक मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् ।

जनताको ढाड सेक्ने गरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।

मट्टितेल र डिजेलको भाउ एकैपटक प्रतिलिटर २७ रुपैयाँले बढाएर १ सय ९२ पु-याइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २१ बढाएर १ सय ९९ पु-याइएको छ । एक महिनाको अवधिमा मात्र पेट्रोलियम पदार्थको भाउ ५९ रुपैयाँले बढाइएको छ ।

खाना पकाउने एलपी ग्याँसको भाउ प्रतिसिलिन्डर ३ सयले बढाएर प्रतिसिलिन्डर १८ सय पु-याइएको छ । आमजनताको अपेक्षाविपरीत सरकारले २०६२/६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रअघि प्रतिलिटर ५१ रुपैयाँमा पाइने पेट्रोलको भाउ निरन्तर बढाएर अहिले प्रतिलिटर १ सय ९९ पु-याइएको छ ।

आमनागरिकको ढाड सेक्ने गरी बढाइएको चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकार असफलजस्तै देखिएको आमउपभोक्ताको गुनासो छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्यमा भारी वृद्धि गरेसँगै सोमबारदेखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा, आन्तरिक हवाई भाडा पनि बढेको छ । सवारीसाधनको भाडा, हवाई भाडादरमात्र नभएर अहिले बजारमा हरेक उपभोग्य वस्तुको ढुवानीसमेत बढेको छ ।

ढुवानी भाडादरसँगै हाल दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चरम रूपमा बढेको छ । यसबाट आमउपभोक्तालाई गम्भीर असर परेको उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाले बताएका छन् । उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् ।

पछिल्लो १० महिनाको समग्र मूल्यवृद्धिलाई हेर्ने हो भने मुलुकमा महँगी ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । दुई वर्ष लामो कोभिड महामारीका कारण क्रयशक्ति गुमेका उपभोक्ता महँगीले थलिंदा सरकार चाहिं यसलाई अन्तर्राष्ट्रिय घटनाको उपज भनेर चुपचाप बसिरहेको छ ।


Published :७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media