वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए । पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो । यद्यपी त्यसअघि नेपाल वायु सेवा निगमका कर्मचारीको अर्को समूहले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थियो । निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप कर्मचारीहरुले अधिकारीमाथि लगाएका थिए ।

 


Published :असार ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media