एक स्वास्थ्यकर्मीले पाकिस्तानमा नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिए !

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रमा एक दुखद घटना भएको छ । त्यस स्वास्थ्य केन्द्रका एक कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिए । त्यसले गर्दा ३२ वर्षीया ती महिलाको ज्यान जोखिममा परेको छ ।

सो दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।

‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने ।

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए । सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको  बताए ।

ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो । (एजेन्सी)


Published :७ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media