विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।

गभर्नर अधिकारीले अत्यधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए । उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुलुकको अर्थतन्त्र लयमा आउने जिकिर गरे ।

गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभई विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको बताए । श्रीलंकाले लिटेसँग लडाईँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको भन्दै गनर्भर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था आउन सक्ने चेतावनी दिए ।

गभर्नर अधिकारीले भने ‘जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिटेन्स आएको छ । त्यो पैसाले आयात गरेका छौं । त्यो खाँचो छ । उत्पादन छैन । नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौं । आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्यो नि ? त्यो योजना हाम्रो हुनुपर्यो । त्यति गर्न सकेनौं । त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझैँ गयो भने हामीलाई भोलि समस्या पर्छ । त्यस कारण हामी सबै शतर्क र सजक रहौं भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौं । जनताले दुःख गरेर ल्याएको सम्पति बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन् । त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनु पर्यो । त्यो गरियो भने दैनिक आयात गरेर खानुपर्ने समस्या अन्त्य हुन्छ । तर यस्ता कुरालाई इग्नोर गरौं भने आजको दिन सम्झनुुस् । हिजो लिटेसँग लडाई गर्दा पनि नभएको चुनौती अहिले श्रीलंकाली जनतामा भएको छ। त्यो लेभलको समस्या भोगेर बस्नुभएको छ । हामी यो कुरामा सच्चै शतर्क हुन जरुरी छ । मौद्रिक नीति देश र समग्र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने छौं ।’

गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याएपनि केही क्षेत्रमा असर परेको स्वीकार गरे । उनले मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने संकेत गरे ।

गभर्नर अधिकारीले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने ल्याउन चुनौतीपूर्ण भएपनि राष्ट्र बैंकले ल्याएर सबैका मागलाई सम्बोधन गरेको बताए । उनले राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने गरेको बताए ।

गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताए । उनले मौद्रिक नीति राष्ट्र बैंकको उद्धेश्य अनुरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले दिएको मार्ग दिएको बताए ।

उनले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको र अझै बढ्नसक्ने बताए । गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने बताए । उनले अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आआफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको शंकटको सामना गर्न सकिने जिकिर गरे । उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे ।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा उतारचढाव आउँदा उद्योग व्यवसाय क्षेत्रमा प्रभाव पर्नु स्वभाविक रहेको भन्दै दुई वर्ष अगाडिको भन्दा अहिले निजी क्षेत्र कम्फरटेवल जोनमा नै रहेको बताए ।


Published :८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media