काठमाडौं । बालबालिकालाई आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । पाँच वर्षदेखि ११ बर्ष उमेर समूहका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाइन लागेको हो ।
खोप यही असार १५ गतेसम्म काठमाडौं जिल्लाका एक लाख ९० हजार बालबालिकालाई लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बताए ।
यस्तै देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ । उहाँका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो ।
बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ । आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ । बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।
कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिनेछ ।
खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।
त्यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।