अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ । मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

आर्थिक विधेयक २०७९/०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा उनीहरुले विरोध प्रदर्शन गरे । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले आर्थिक विधेयकले जिआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उत्पादनका उद्योगीहरुलाई मर्का पर्ने बताए ।

अध्यक्ष रिजालले उद्योगीलाई मर्का पर्ने गरी ल्याइएको विधेयकलाई सच्चाउनका लागि पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नहुँदा सडकमा उत्रिनुपरेको बताए । उनले भने, ‘छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकार लागेको छ । उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै प्रयासरत छ ।

त्यसैगरी उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले त्रुटि सच्याउने विषयमा छल गरेको आरोप लगाए ।

अध्यक्ष प्याकुरेलले उद्योगीलाई मर्कामा पर्ने गरी काम गरिरहँदा प्रधानमन्त्री समेत आफ्ना मन्त्रीहरुलाई बचाउने खेलमा लागेको आरोप लगाए । उनले भने, ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्री, कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन ।

उद्योग धराशायी हुने काम भइरहँदा प्रधानमन्त्रीले किन उहाँहरुलाई बर्खास्त गर्नुहुन्न यस विषयमा कुरा गर्न उद्योगीहरुले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष समेत पुगेको बताउँदै अध्यक्ष प्याकुरेलले भने, ‘प्रचण्डले समेत उद्योगीको माग जायज भएको बताएका थिए । जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने बताएका थिए ।

उद्योगीसँग खेलाँची नगर्न चेतावनी दिँदै उनले भने, ‘यहाँ अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले झुटो बोलेर बसिरहेका छन् । उहाँहरुलाई लाज सरम छैन । गत वर्षसमेत अर्थमन्त्रीले दलाली गर्दै २४ वटा उद्योग बन्द गराएको आरोप लगाएका मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले कुनै एक व्यक्तिका लागि गरिएको यस निर्णयमा निर्णयकर्ता उद्योग व्यवसायीको हत्यारा भएको आरोप लगाए ।

 


Published :९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media