मन्त्री हेरफेरमा समाजवादीका १० सांसदको गम्भीर असहमति

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध देखिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरु निर्णयविरुद्ध उभिएका हुन् । संसदमा बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल हेरफेर गर्न खोज्नु गलत भएको बताएका छन् ।

यसबाट एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका थिए । तर, प्रधानमन्त्री देउवाले लामो समयसम्म पनि कार्यान्वयन गरेका छैनन् ।

सरकारमा सामेल हुने बेला नै एकीकृत समाजवादीले ६ महिनापछि मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने सहमति गरेको थियो । तर, मन्त्री भएको आठ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन भएको छैन । बरु उल्टै यो विषय चर्किंदै गएको छ । अहिले एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसिरहेको छ ।

बैठकअघि नै सो पार्टीका १० सांसदले मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन् ।

यस्तै, सांसदहरु गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरु जैरुले पनि संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले पार्टीका मन्त्रीहरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ। आगामी आर्थिक वर्ष २०७९र८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उनीहरूले चेतावनी दिएका छन् । उनीहरूले प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेको भन्दै गम्भीर असहमति व्यक्त गरेका छन् ।


Published :१० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media