बैठकमा समयमै उपस्थित भई जवाफदेही बन्न मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको रुलिङ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बैठकमा समयमै उपस्थित भई जनताप्रति जवाफदेही बन्न मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित भएर जनताप्रति जवाफदेही बन्न रुलिङ गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रुपमा संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरूको जिम्मेवारी हो । लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ ।’

मन्त्रीहरूलाई रुलिङ गर्दै अध्यक्ष तिमिल्सिनाले अगाडि भने, ‘तसर्थ म नेपाल सरकारका मन्त्रीहरूलाई राष्ट्रियसभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत् जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।


Published :१० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media