प्रचण्डका कारण नेकपा फुट्योः वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको बताएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले त्यतिबेला प्रचण्डले आरोपपत्र फिर्ता लिएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि लागेको बताएका हुन् । उनले नेकपा विभाजन हुने बेला प्रचण्ड र ओलीबीच भएको संवादको बारेमा जानकारी दिँदै नेकपा विभाजनप्रति पश्चाताप गरेका हुन् ।

‘ओलीजीले मलाई लगाइएको संगीन आरोप जुन छ, त्यो फिर्ता गरौं भन्नुभयो, प्रधानमन्त्री छाड्ने र अर्कोलाई बनाउने विषयमा थोरै छलफल भयो’,

वामदेवले अगाडि भने, ‘तर त्यसलाई अघि बढाउन सकिएन । तर, संगीन आरोपपत्र फिर्ता लिन मैले सक्दिनँ भनेर प्रचण्डले भन्नुभयो । सायद, त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने आज पनि मलाई लाग्छ।’

प्रचण्डले आरोपपत्र फिर्ता लिन नमानेपछि प्रचण्डलाई पुनः अनुरोध गरेको उनले स्मरण गरे । ‘प्रचण्डले अस्वीकार गर्नुभयो, त्यसपछि मैले ओलीकै अगाडि भनेँ। यो आरोपपत्र बीचमै हामीले सम्झौता गरेर फिर्ता लिनपर्ने आवश्यक्ता पर्न सक्छ। यो उपलब्धि जोगाउनपर्छ भनेर फिर्ता लिन भनेँ, तर प्रचण्डले मान्नुभएन,’ गौतमले भने, ‘यो सबै सिर्जना गर्ने तपाईं हो मेरो नाम मात्र परेको हो, वास्तवमा नाम तपाईंकै राख्नुपर्ने हो।’ ओली र प्रचण्डले बोलाउँदा आफू कतैतिर पनि नगएको उनले बताए ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media