आफ्नै कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकिएनः अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष नेपालले भने, ‘तर पनि गठबन्धनको आवश्यक्ता अहिले पनि छ । हिजो भएको पोलिटव्यूरो बैठकमा बोल्ने अधिकांशको राय थियो–गठबन्धनप्रति हाम्रो धेरै गुनासो भए पनि कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि, हामी आफैले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारणले गर्दा खेरी हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौं । तर पनि गर्वका साथ भन्नुपर्दछ–महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ । त्यसमा पनि गठबन्धन दलका सबै घटकहरुले हामीसँग भन्नुभएको छ–मिलेरै जाऔं । नेपाली काँग्रेसका तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्रीजीले गठबन्धनको आवश्यक्ता छ । हामी आउने चुनावमा पनि मिलेर जाऔं भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विगतमा कमीकमजोरीहरु भए । त्यो पनि स्विकार गर्नुभएको छ । र, ती कमजोरीहरु नदोहोरियोस् भन्ने कुरामा हामीले सजग हुनुपर्दछ । कहाँकहाँ आत्मालोचना गरेर जानुपर्ने हो गरेर जाने भन्नु भएको छ । त्यसैगरी जनता समाजवादी पार्टीको उपेन्द्रजीले पनि हामीले मिलेरै जानुपर्छ भन्नु भएको छ । यी सबै सन्दर्भमा एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर बढने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागिपर्नुपर्ने आवश्यक्ता छ ।’ उनले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक्ता रहेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आवद्ध दलका नेताहरुले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताए ।

उनले गठबन्धनसँग तालमेल गरेर र आफनै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिबद्धता जनाएको पनि बताए ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media