एसले भन्यो- निर्णय कार्यान्वयन ढिलाइले अपमान भयो, तत्काल मन्त्रीलाई सपथ गराऊ

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीले मन्त्रीमा सिफारिस गरेकाहरुलाई तत्काल शपथ ग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ । सो पार्टीले निर्णय कार्यान्वयनका लागि भएको ढिलाइले अपमान भएको बताएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि चेतावनीको भाषा प्रयोग गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताए । उनले भने ‘आजसम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्रीको सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं । तपाईहरुले आन्तरिक तनाव व्यवस्थापन गर्न खोज्दा हाम्रो पार्टीमा खेल्न खोजेको हामीलाई लज्जित गर्न खोजेको जस्तो देखिएको छ ।’

उनले चेतावनी दिँदै भने, ‘अब ढिलाइ गर्नुभयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला।’

नेकपा एकीकृत समाजवादीले हाल मन्त्रिपरिषदमा रहेका नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर निर्णय भएको २१ दिन बितिसक्दा पनि मन्त्री सिफारिस भएकाहरुले शपथ ग्रहण गर्न नपाएकामा एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।

प्रचार विभाग प्रमुख खतिवडाले एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीको सूचीमा संशोधन हुँदै नहुने पनि बताए । केही मन्त्रीहरुले मन्त्रीको सूची हेरफेर गर्नुपर्ने भनी पार्टीमा माग गरेको चर्चा चलेको थियो । तर खतिवडाले बैठकपछि पत्रकारहरुसँग भने, ‘मन्त्रीको सूची संशोधन हुँदैन, समयक्रममा नाम थप्नुपर्ला, घटाउनुपर्ला तर अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन ।’


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media