सम्मानजनक नभए गठबन्धन टुट्न सक्ने वर्षमान पुनको चेतावनी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने बताएका छन् ।

सिन्धुपाल्चोकको चौतारामा आज आयोजित माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको आरोप लगाए ।

नेता पुनले भने, ‘स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो । आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’ नेता पुनले कांग्रेसको चलाखीका बाबजुद अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे ।

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए । उनले आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि त्यो सम्भावना नभएको बताए । बाम गठबन्धनलाई जनताले चाहेको र रुचाएको भए अहिले सम्भावना नभएको बताए ।


Published :११ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media