काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाम बैठकमा विशेष समय लिँदै सांसद भट्टराईले प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गरेका छन् ।
काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन- अध्यापनमा अवरोध भएको बताए । संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा नपुगेको बताए ।
पाठ्यपुस्तक नहुँदा विद्यार्थी विद्यालय नजाने र अध्यापनमा समस्या भएको भन्दै उनले तत्काल पाठ्यपुस्तक उपलब्ध गराएर सहज रुपमा अध्ययन र अध्यापनको वातावरण बनाउन सरकारसँग जोडदार माग गरेका छन् ।