संसद्बाट नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको सभामुख सापकोटाको भनाइ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन् ।

आइतवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताए । उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।

सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जनभन्दा बढी ज्ञापनपत्र आउने गरेको बताए । उनले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाहरुले सुनौलो अवसर गुमाइरहेको बताए । उनले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको धारणा व्यक्त गरे । उनले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्न सके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गरे ।

उनले भने,‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरु म भए ठाँउमा आएका छन् । अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन् । अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन् । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ, भनेर मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरेको छु । प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ । त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरु पनि पास गर्न सकिन्छ । बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरु पास गर्न सक्यौ भने जनतालाई गर्दा हुने रहेछ भन्ने हुने थियो । गर्दैछ भन्ने आश लाग्ने थियो ।’

सभामुख सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताए ।

सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन नसकिएको उनको भनाइ थियो ।

सभामुख सापकोटाले संघीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानुन निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा आफू रहेको बताए ।

महत्त्वपूर्ण विधेयक शीघ्र पारित गरेर संघीयता कार्यान्वयनका लागि आफूले सबै समितिलाई आग्रह गरेको र केही विधेयक अगाडि बढाउन सम्वद्ध पक्षलाई ध्यानाकर्षण गराइएको समेत उनले जानकारी गराए।

उनले संसदीय समितिलाई बढीभन्दा बढी क्रियाशील बनाउने सन्दर्भमा आज सार्वजनिक पुस्तकबाट पनि प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे।

उक्त पुस्तकमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार एवं इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापाले नेपालको संसदीय मामिला र संसदीय समितिका बारेमा जानकारी लिनका लागि पुस्तक उपयोगी रहेको बताए ।


Published :१२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media