जसपाले पनि मन्त्री परिवर्तन गर्ने, नयाँ मन्त्री सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई

काठमाडौं । जनता समाजवादी पार्टीले पनि मन्त्री परिवर्तन गर्ने भएको छ । सो पार्टीले अहिले कायम रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको हो ।

सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री रहेका छन् । अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने भएको छ ।

जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर,  सोमबार राति यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको हो ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो ।


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media