एमसीसी जस्तै एसपीपीमा पनि सामेल हुने सम्भावना रहेको केपी ओलीको आशंका

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपीको पछिल्लो ड्राफ्ट घातक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको ड्राफ्ट घातक रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा पहिला यस्तो ड्राफ्ट नआएको र अहिलेको नयाँ ड्राफ्ट घातक रहेको जिकिर गरे । उनले भने, ‘यो नयाँ ड्राफ्ट हो, यो घातक छ । यस्तो ड्राफ्ट पहिला कहिल्यै आएको थिएन । अहिले यो ड्राफ्ट फेरि पठाएर नयाँ आएको हो ।

अध्यक्ष ओलीले राष्ट्रियताका विषयमा तमासा गर्नुनहुने बताए । उनले  एमसीसी सम्झौता शेरबहादुर, पुष्पकमल दाहाल भएर गरेको र उनीहरुले नै पास पनि गरेको बताए । उनले भने, ‘उहाँहरूले पास गर्नुभयो । बिचमा एउटा वातावरण बिगार्नुभयो । किन प्रहरीसँग झडप गर्नुपरेको थियो ? किन बाटो हिँड्ने मान्छेलाई ढुङ्गा हान्नुपर्‍यो ?’

उनले आफू प्रधानमन्त्री भएको बेला एसपीपीमा नेपालको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको दाबी गरे । उनले एमसीसी जस्तै एसपीपीमा पनि सामेल हुने सम्भावना रहेको आशंका गरे ।

अध्यक्ष ओलीले सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई आफूहरुले २०१९ मै ‘स्टप’ गरिदिएको बताउँदै अहिले प्रचण्डले त्यसलाई फेरि अगाडि बढाउन खोजेको  बताए ।

उनले एमसीसीमा जनतालाई धोखा दिएर पास गर्ने शेरबहादुर देउवा र प्रचण्डले नै एसपीपीमा नेपाललाई लैजान खोजेको बताए । उनले भने, ‘एमसीसी जनतालाई धोखा दिएर पास गर्ने शेरबहादुर देउवा र प्रचण्डले नै एसपीपीमा नेपाललाई लैजान खोजेका हुन् ।’

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा पठाएको पत्रमा टिपेक्स लगाएर मेटाएको आरोप लगाए । उनले टिपेक्स नलगाएको ओरजिनल पत्र देखाउन सरकारलाई चुनौती दिए । उनले भने, ‘म प्रधानमन्त्री हुनुभन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’

ओलीले भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको हो। अमेरिकन एम्बेसीले सत्य बोलोस् । चलानी नम्बर किन हातले लेखियो । अहिले आएर जालसाजी गरिएको छ । २०७४ साल वैशाख २४ गते प्रचण्ड प्रधानमन्त्री भएकै बेला फेरि अर्को पत्र पठाएको छ, इण्डो प्यासीफिक हेडक्वार्टरलाई । फेरि प्रधानमन्त्री शेरबहादुर देउवा भएपछि इण्डोप्यासीफीकसँग पत्राचार गर्नुभयो ।’


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media